बैशाख १६ गते
बाँसगढी ४ पिपलटाडीमा संचालित विनय कृषि फर्मको आयोजनामा अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । फार्मले नेपाल सरकार कृषि तथा पशुक्षी विकाश मन्त्रालयसँग गरेको पूरक लगानीको सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको हो । फार्मका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयको नेपाल लाइभ स्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलको उत्पादन मूलक गठबन्धनमा आधारित “मासु तथा प्रजनन्को लागि खसि बोका तथा पाठापाठी उत्पादन उप–आयोजनाको प्रावधान बमोजिम सार्वजनिक सुनुवाई गरिएको आयोजकले जनाकारी दिएको छ ।
सो उप–आयोजनाको लगानीमध्ये ५० प्रतिशत सरकारी आयोजनाको एवम् बाँकी आधामध्ये २० प्रतिशत रकम फार्म स्वयंको र ३० प्रतिशत वित्तीय संस्थाबाट लगानी गर्नेगरी सम्झौता भएको थियो । सो सम्झौता अनुसार आयोजनाको पुरक अनुदान रकम २९ लाख ४९ हजार ३ सय ८७ रुपैया, बैंकको ऋण लगानी १७ लाख ६९ हजार ८ सय १३ रुपैया र सो लगानी ११ लाख ७९ हजार ८ सय २८ रुपैया गरी जम्मा ५८ लाख ९९ हजार २७ लागतमा उपआयोजना सम्पन्न भएको विनय कृषि फर्मका संचालक राजगोपाल अधिकारीले जानकारी दिनुभयो । 
उप–आयोजना अन्तर्गत बाख्रापालन व्यावसायीमा आधुनीक प्रविधिको थप विस्तार र बाख्राको संख्या समेत वृद्धि गर्दै गुणस्तरीय मासु उत्पादन गरिने फर्मका संचालक अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सरकारी आयोजना सञ्चालन हुनु सुखद रहेको उल्लेख गर्नुभयो । सो अवरमा बाँसगढी नगरपालिका पशुविकास शाखामा पशुप्राविधिक धनश्याम तिवारी, सगरमाथा विमा कम्पनीका क्षेत्रिय प्रमुख गोविन्द प्रसाद उपाध्यय, पशुपालक कृषक कासिराम पौडेल लगायतले उप–आयोजना मार्फत गरेको कार्यक्रमका बारेमा आफ्नो विचार राख्नुभएको थियो ।