बिन्दु चौधरी ।
बर्दियाको बाँसगढी नगरपालिकाले भुमिहिन दलित सुकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरणका लागि जग्गा नाप नक्सा शुरु गरेको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि बाँसगढी नगरपालिकाले वडा नम्बर २ बाट जग्गा नाप नक्सा कार्यको सुरुवात गरेको हो । राष्ट्रिय भूमि आयोग बर्दियाका अध्यक्ष बिनाराम थारु, नापी कार्यालय बर्दियाका प्रमुख किसनसिँह बिष्ट लगायत जनप्रतिनिधिहरु, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको उपस्थितिमा जग्गाको नाप नक्सा कार्य शुरु गरिएको बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले प्राविधीक कर्मचारीहरु नाप नक्साका लागि स्थलगत रुपमै खटाइएको र समयमै नापनक्साको कार्य सम्पन्न गरेर चाँडै लालपूर्जा वितरण गरिने नगर प्रमुख खड्काले बताउनुभयो । यस्तै ठाकुरबाबा नगरपालिकाले पनि मंगलबारदेखि वडा नम्बर ५ को अरहरिया फाँटाबाट जग्गा नाप नक्सा कार्यको सुरुवात गरेको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बिनाकुमारी भट्टराईले जग्गाको नाप नक्सा कार्यको उद्घाटन गर्नुभयो ।