रावन विश्वकर्मा /
बर्दियाको बाँसगढीमा सञ्चालन भएको वाईवाई छैठौ बाँसगढी, बर्दिया माघ महोत्सव सकिएको छ । पौष २९ गते उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले भव्य उद्घाटन गरेको महोत्सव माघ ९ गते मंगलबार समापन गरिएको हो । आर्थिक मन्दीका कारण आम नागरिकहरुको जनजिवन प्रभावित भईरहेको अवस्था र बर्दियाको बिभिन्न पालिकाहरुमा पनि महोत्सव सञ्चालन भईरहेको अवस्थामा पनि बाँसगढी महोत्सव सफल भएको आयोजकको दाबी छ । १ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएकोमा झण्डै ८० हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेको बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा महोत्सव मुल समिति संयोजक बद्रीनाथ बरालले बताउनु भयो ।
१० दिन सम्म सञ्चालन भएको मेलामा ५ करोड बढी कारोवार भएको अनुमान गरिएको समेत बरालले बताउनु भयो । अहिलेको कठिन परिस्थितिमा पनि हरेक दिन महोत्सवमा दर्शकहरुको सन्तोसजन उपस्थितिले मेलालाई सफल पारेको संघका अध्यक्ष बरालले बताउनु भयो । मेलामा महिला उद्यमीहरुलाई सबैभन्दा सस्तो मुल्यमा स्टलको व्यवस्था गरिएको थियो । मेलामा कृषि प्रदर्शनी, हस्तकला देखि स्थानिय उत्पादन, ब्यापारिक स्टल गरि १ सय २० स्टल राखिएको थियो भने बिशेष छुटै थारु गाँउ समेत राखिएको थियो । महोत्सवमा राखिएको रमाईलो मेला, रोटे पिङग, मोवतका कुवा, बाल उद्यानका खेल लगाएतका विभिन्न मनोरन्जनात्मक सामग्रीले पनि दर्शकले मनोरञ्जन लिएका थिए ।
महोत्सव अवलोकन गर्न आएका दर्शकहरुलाई प्रत्येक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए । महोत्सवमा थारु साँस्कृतिक प्रतियोगिता, बर्दिया डान्स आईडल समेत भएको थियो । “कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने नाराका साथ बाँसगढी उद्योग वाणिय सँघको आयोजनामा वाईवाई छैठो बाँसगढी औद्योगिक कृषि पर्यटन ब्यापार मेला तथा बर्दिया माघ महोत्सव सञ्चालन गरिएको थियो । संरक्षक रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काको उपस्थितिमा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष बद्रीनाथ बरालले महोत्सवको समापन गर्नुभएको थियो । समापन समारोहमा मेलालाई सहयोग गर्ने बिभिन्न संघ संस्था लगायत विभिन्न व्यक्तित्वहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।