अनोज थारु
बर्दियाको बाँसगढीमा १० जना श्रमिकलाई सम्मान गरिएको छ । ज्ञानज्योति विद्या सदन बाँसगढीको भवन निर्माण गरेका श्रमिकहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालयको तिन तले भवन समयमा निर्माण सम्पन्न गरेको भन्दै ज्ञानज्याति विद्या सदन बाँसगढीका सञ्चालक केशव राज पौडेलले खानपिनका साथ सम्मान गर्नुभएको हो । ज्याला मजदुरी गरी जिवन निर्वाह गर्ने श्रमिकहरुको कामको सम्मान गर्ने उदेश्यका साथ उनीहरुलाई खादा, टिका र दक्षिना दिएर सम्मान गरिएको थियो । ४ जना मिस्त्री सहित १० जना कामदार सम्मानित भएका छन् ।
हेड मिस्त्री राम बहादुर थारु र राम प्रसाद थारुलाई १।१ जोडा कपडा र अन्य श्रमिकहरुलाई सोही बराबर रकम दिईएको थियो । श्रमिकहरुको सम्मान गर्दै विद्यालयका सञ्चालक पौडेलले श्रमको सम्मान नभए सम्म देशको विकास नहुने बताउनु भयो । हाम्रो श्रममा विभेद् छ, नागरिकहरुले रोजगारी पाएका छैन्न उहाले भन्नु भयो बिभेद भएकै कारण देशको समृद्धि र विकास हुन सकेको छैन् । श्रमिकहरुलाई सामुहिक सम्मान गर्दै आफु श्रमिक बनेर विद्यालयको भवन निर्माण गर्ने दक्ष र अर्धदक्ष कामदारहरुलाई सँगै राखेर खानपिन गराएको पौडेलको भनाई छ ।
विद्यालयले सम्मान गरे पछि श्रमिकहरु पनि खुसी भएका छन् । बाँसगढी ६ दमौलीका राम बहादुर थारुले १५ बर्ष देखी मिस्त्री भएर काम गर्दै आएको तर अहिले सम्म कहि कतैबाट सम्मान नपाएको बताउनु भयो । उहाँले ज्ञानज्योति विद्या सदनले पहिलो पटक सम्मान गर्दा ज्यादै खुसी लागेको बताउनु भयो । कामको सम्मान यसरी सबैले गरोस भन्ने आफ्नो अपेक्षा रहेको राम बहादुर थारुको भनाई छ । त्यस्तै बाँसगढी ३ उत्तरभखारीकी समुद्री थारुले पनि साना साना बालबच्च्चा काखि च्याप्दै सामान्य श्रमिक भएर काम गर्न थालेको २० बर्ष पुग्यो । २० बर्ष पछि यसरी सम्मान पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।