विन्दु चौधरी
“हाम्रो संस्था हाम्रो लगानी, भावनाको विकास हुनेगरी”, भन्ने मूल नारा सहित जनभावना बहुउद्देश्यीय सहकारी संस्था बाँसगढीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाले २ करोड ७३ लाख ८७ हजार ७ सय ४९ रुपैयाको आयब्यय पारित गर्दै तेस्रो साधारण सभा सम्पन्न भएको हो । सभामा जनभावना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शेर बहादुर सुनारले आगामी दिनमा संस्थागत पुजीं बृद्धि गर्दै जाने र सहकारीको पूजींको आधार मजबुत बनाउने बताउनुभयो । उहाँले बचत र ऋणको विविधिकरण गर्दै न्यून दरमा बचत संकलन गर्दैजाने र सस्तो एंवम सुरक्षित लगानी गर्ने बातावरण तयार गर्ने बताउनुभयो । संस्थाको कोषाअध्यक्ष रामलाल श्रेष्ठले हालको आयब्यय बारे जानकारी गराउनुभयो । श्रेष्ठले संस्थाको शेयर पुंजी ५३ लाख ७४ हजार ६ सय रहेको र ऋण लगानी एक करोड ९९ लाख ४१ हजार ३९३ रुपैया रहेको जानकारी दिनुभयो । ८ सय ८० जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७९।८० मा आम्दानी तर्फ ३२ लाख ५३ हजार ८६३ रुपैया रहेको छ भने ३० लाख ३७ हजार ६७५ रुपैया खर्च देखाइएको छ । संस्थाको आयकम पछिको शुद्ध नाफा भने २ लाख ५ हजार ३७८ रुपैया रहेको कोषाअध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थाका अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अहिलेको आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले यस वर्षदेखि नगरभित्रका सहकारीमार्फत किसानहरुलाई एक करोड रुपैया उत्पादन क्षेत्रमा लगानी गर्ने बताउनुभयो । नगरपालिकाले सहकारीलाई शून्य प्रतिशतमा ऋण दिने र सहकारीले कृषकलाई एक प्रतिशतमा ऋण दिनेगरी ब्यवस्था गरिरहेको बताउनुभयो । संस्थाका सचिव विनोद परियारले कार्यक्रम संचालन गर्नुभएको थियो । भने स्वागत उपाध्यक्ष रेशम बहादुर खत्रीले गर्नुभएको थियो ।