बिन्दु चौधरी मंसिर ९ गते
एक वर्षमा बाँसगढी नगरपालिकामा लैङ्गिक हिंसाका २ सय ५२ वटा घटना घटेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा सो सङ्ख्यामा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक सैलेश्वरी बोहोराले जानकारी दिनुभयो । बोहोराका अनुसार गत आर्थिक वर्ष २०७९।८० मा घरेलु हिंसाका २ सय ३५ वटा घटना दर्ता भएका छन् । त्यस्तै बहुविवाह ४ वटा, जवरजस्ती करणी १० वटा, जवरजस्ती करणी उद्योग २ वटा र बाल यौन दुरुपयोग एउटा घटना दर्ता भएका छन् ।
लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान कार्यक्रमको अवसरमा उहाँले सो तथ्यांक सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा सबैभन्दा बढि महिला र बालबालिका पिडित देखिएको बताउनुभयो । बाँसगढी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा बाँके यूनेस्को क्लवको समन्वयमा बाँसगढीमा शुरु भएको १६ दिने अभियानमा महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैगिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेको महिला विकास शाखाका प्रमुख एशोदा थापाले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिँदै छ । सोही अनुसार नेपालमा ‘लैङ््गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्ष मङ्सिर ९ देखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ । बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वाडन ं ५ का वडाअध्यक्ष दहवा थारु, वडासदस्य, इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक सैलेश्वरी बोहोरा, बाँके यूनेस्को क्लवका प्रजोना श्रेष्ठ, स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।