खोजि गर्नुहोस..

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बर्दियामा ५२ उजुरी दर्ता

बिन्दु चौधरी,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बर्दिया जिल्लामा गत आर्थिक वर्षदेखि श्रावन १४ गतेसम्म ५२ उजुरी दर्ता भएको सार्वजानिक गरेको छ । आयोगले आयोजना गरेको भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा आयोगको सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत नारायण प्रसाद ढकालले बर्दिया जिल्लामा ५२ उजुरी दर्ता भएको जानकारी दिनुभयो । ढकालले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ्क, जिल्लागत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा सहजीकरण दिनुभयो । त्यसैगरी कार्यक्रममा भ्रष्टाचार जन्य कसुर र सजाय, भ्रष्टाचार नियन्त्रण गर्ने कानुनी र संरचनागत व्यवस्था, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि गर्नुपर्ने काम, आयोगमा दर्ता हुने उजुरीको अनुसन्धान कार्यमा परेका समस्यहरु तथा आयोगको अपेक्षा सम्बन्धि जानकारी गराईएको थियो ।

आयोगमा सार्वजनिक खरिद, निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेको बताइएको छ । ढकालले सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी उजुरी प्रायः दर्ता हुने गरेको बताउनुभयो । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु समेत दर्ता भएको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत ढकालले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शैक्षिक सुधार, भौतिक निर्माण, नदिजन्य पदार्थ उत्खनन, जग्गाको अतिक्रमण लगाएतका दुरूपयोग बढी भएकाले यसको नियमन गरी नियन्त्रण गर्नु पर्ने बताएका छन । कार्यक्रममा आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गर्नुभयो ।

उनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारबाही गरी भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागि रहने बताउनुभयो । कार्यक्रममा बोल्दै बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले भ्रष्टाचार नियन्त्रण गर्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । भ्रष्टाचार हुनसक्ने योजनाको नियमित अनुगमन गरिरहेको बताउदै त्यस्ता कार्य गर्ने जो कोहि लाई पनि छुट नहुने बताउनु भयो । “सदाचार, निष्पक्षता, निर्भीकता, “भ्रष्तचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिवार्य“ भन्ने नारासँगै भएको भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत मनप्रसाद रेग्मी, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यपक, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरि एक सय ६२ जनाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *