साउन २६ गते
बर्दियाको बाँसगढीमा आधारभूत तह कक्षा १ देखि ५ सम्मका गणित शिक्षकहरुको ३ दिने तालिम आज सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र एक्सनएड नेपालको साझेदारीमा उक्त तालिम भएको हो । ३ दिने तालिममा शिक्षकहरुका लागि शिक्षण सामग्री निर्माण तथा सूचना संचार तथा प्रविधिबारे जानकारी गराईएको थियो । गणित विषयमा तल्लो कक्षाबाट नै गणित विषयको आधार बलियो बनाउने र गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक जितराम थारुले बताउनु भयो ।
आधारभुत तहमा गणित विषयलाई घोकाउने भन्दा पनि गणितको अवधारण बालबालिकामा दिन सकेमा माथिल्लो कक्षामा बिद्यार्थीहरुलाई राम्रो सहयोग पुग्ने भएकोले यस्तो तालिम अति नै आवश्यक रहेको शिक्षा युवा तथा खेलकुदा शाखाका प्रमुख मन प्रसाद रेग्मीले बताउनुभयो ।
तालिममा बाँसगढी नगरपालिकाका २, ३, ६, ८ र ९ का १७ वटा विद्यालयमा कार्यरत आधारभुत तहमा गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । ३दिने तालिमको सहजीकरण प्रशिक्षक बीर बहादुर चलाउनेले गर्नुभएको थियो । यस तालिमबाट शिक्षण सामग्री निर्माण तथा यसको प्रयोग सम्बन्धी सीप प्राप्त भएकोले यसले शिक्षकहरुको पेशागत दक्षता पनि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाका कार्यक्रम अधिकृत जयराम चौधरीले बताउनु भयो ।