खोजि गर्नुहोस..

बर्दियामा आत्महत्या गर्नेको संख्यामा वृद्दि

भदौ २ गते
बर्दियामा आत्महत्या गर्नेको संख्यामा वृद्दि हुदै गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक अनुसार प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्यामा वृद्धि हुदै गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार पछिल्लो तीन वर्षमा ४५४ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७८÷७९मा १६१जना मध्ये ७१ जना महिला र ९० जना पुरुषले आत्महत्या गरेका छन् । आर्थिक बर्ष२०७७÷०७८ मा १५० जना मध्ये ६९ जना महिला र ८१ पुरुषले आत्महत्या गरेका छन् । आर्थिक वर्षमा २०७६÷०७७ मा १४३ जना मध्ये ६१ जना महिला र ८२ पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी १६ वर्ष देखि २५ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले पारिवारीक कलह, प्रेममा धोका, सामाजिक सञ्जालको प्रयोग, गरिबी, व्यावसायिक असफलता र अशिक्षा कारण आत्महत्या भएको प्रहरीको अनुसन्धानमा देखिएको बताउनु भयो ।

उहाँले आत्महत्या गर्नेहरुले झुण्डिएर, विष सेवन र नदी वा पोखरीमा डुबेर आत्महत्या गर्ने गरेको प्रहरी उपरीक्षक बोहराले बताउनु भयो । उहाँले बर्दिया जिल्लामा आत्महत्याको तथ्यांक हेर्दा भयावहको अवस्था देखिएको हुँदा सबैले यसको रोकथामका लागि पहल गर्नुपर्ने बताउनु भयो । मध्यपश्चिम विश्वविद्यालय बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक प्रेम प्रसाद अधिकारीले धेरै जसो मानिसहरु समाजले गर्ने टिकाटिप्पणीको कारण मानसिक दवावमा पर्ने, सोही कारण मानिक रोगी हुने र अन्ततः आत्महत्याको बाटो रोज्ने गरेको बताउनु भयो । श्रीमान् श्रीमतीको बीचमा हुने सामान्य असमझ, मान्छेको महत्वकांक्षी आवश्यकता पुरा नहुदाँ मान्छेमा निराश पैदा हुन्छ र मान्छेले आत्महत्याको बाटो रोज्ने बताउनु भयो ।

आत्महत्याको मुख्य कारण समाजका इकाइहरु समुदाय, परिवार, संघ ,संगठन, संस्था र त्यसपछिको कारण व्यक्ति स्वयं आफै भएको उप प्रधाध्यापक अधिकारीको भनाई छ । विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक वर्ष विश्वभर करिब आठ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गरेको छ । विभिन्न अनुसन्धानले ९०प्रतिशत मानिसहरुले मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या गरेको पाइएको छ । आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतीको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *