जेठ १७ गते
गर्मी हुनु, वर्षात् हुनु, जाडो हुनु प्राकृतिक नियमित हुने प्रक्रिया हो यो चक्र चलिरहन्छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण प्रत्येक वर्ष तापक्रम बृद्धि हुदै गईरहेको हामी सबैले अनुभव गरेकै कुरा पनि हो र तापमानले देखाएको पनि छ बाँकेमा ४३.२ डिग्री । तराईमा अत्यधिक गर्मी बढेकोले कारण जनजिवन प्रभावित भएको छ नै त्यसमा पनि शिक्षा क्षेत्रलाई हेर्ने हो भने स्थानीय सरकारले ३÷४ दिन विद्यालय बन्द गरेको सूचना पनि आइरहेका छन् । विद्यालय बन्द भएका छन् । विद्यालय बन्द गर्ने वा यसको व्यवस्थापन गर्ने भन्ने विषय आजको बहसको महत्वपूर्ण विषय बन्नुपर्छ ।
जाडो भयो, वर्षात भयो, गर्मी भयो भनेर विद्यालय बन्द गर्नु बाहेक केही विकल्प नभएकै हो त ? हरेक वर्ष जाडो हुन्छ, गर्मी हुन्छ भनेर सबैलाई थाहा हुँदाहुँदै पनि यससँग अनुकुलित हुने अर्थात् यसको प्रभाव कम गर्ने खालका विद्यालय व्यवस्थापन गर्ने योजनाहरु किन बन्दैनन्? यो विषयमा शिक्षासँग सरोकार राख्ने तीन तहको सरकार, संघसंस्था, नागरिक समाज, राजनीतिक दल, शिक्षक, अभिभावकले अब सोचविचार गर्नुपर्ने अति नै आवश्यक छ जस्तो लाग्छ । अहिले स्थानीय सरकार (नगरपालिका÷गाउँपालिका) को योजना तर्जुमा प्रक्रिया चलिरहेको छ ।
गाउँबस्तीमा सडक, पुल–कल्भर्ट निर्माणका विषयमा समुदाय र स्थानीय प्रतिनिधिहरुको ध्यान जान्छ तर त्यही स्थानमा रहेको विद्यालयको अवस्था के छ ? विद्यालयको कक्षाकोठामा हाम्रा कलिला बालबालिकाहरुले कसरी अध्ययन गरिरहेका छन् वा तातो टिनको बन्द कोठामा तड्पेर दिन कटाइरहेका छन् ? विद्यालयमा पङ्खखा पनि छ कि छैन ? कतिवटा पङ्खखा कुन अवस्थामा छ ? त्यो त तीनै बालबालिकालाई र सँगसँगै बिताउने शिक्षकलाई जसले त्यो गर्मी सहनुको अर्काे विकल्प छैन र विद्यालयमा गर्मी भयो भनेर छुट्टी पाउनेवाला पनि छैनन् । विद्यालय ३÷४ दिन बन्दले पनि बालबालिकाहरुलाई राहत नै महसुस भएको छ तर विद्यालय बन्द गर्नु नै उत्तम उपायको रुपमा लिइनुहुँदैन भन्ने लाइनमा यो पंक्तिकार उभिन मनपराउँछ । यद्यपि अन्य वार्षिक विदाबाट यो अवधि कटाइन्छ ।
शिक्षा क्षेत्रको बजेट हेर्ने हो भने प्रयाप्त मात्रामा विनियोजन भएको पाईँदैन । विद्यालयको सामान्य मर्मत सम्भार, कक्षाकोठा व्यवस्थापनका लागि बजेट नभएर अधिकांश विद्यालयका व्यवस्थापकहरु निरास हुने अवस्था छ । कक्षाकोठा व्यवस्थापन र मर्मत सम्भारका लागि एकदमै धेरै आवश्यकता रहेको छ तर यसको लागि बजेट नभएको गुनासो सबै विद्यालयको छ भन्दा फरक पर्दैन । आ.व. २०८०÷०८१मा कुल बजेटको ११.२७ प्रतिशत मात्र विनियोजन गरिएको बजेट आ.व.२०८१÷०८२ मा १०.९५ प्रतिशत मात्रै । यसरी न्युनहिस्सामा छुट्याइएको बजेट भनेको शिक्षकको तलब भत्ता सहितको बजेट हो ।
भनेपछि शैक्षिक गुणस्तरको लागि लगानी गर्न बजेट कसरी पुग्छ ? अनि गर्मी, जाडो, वर्षात्मा मौसम अनुकुल हुने कक्षाकोठा व्यवस्थापन कहिले होला र हाम्रा कलिला बालबालिकाले सुरक्षित, सहजतापुर्वक कक्षामा बसेर पढ्न पाउलान् ?
विद्यालय बन्द गर्नुभन्दा पनि सबै मौसममा अनुकुल हुने विद्यालयको वातावरण, कक्षाकोठा व्यवस्थापन गरेर कलिला बालबालिकाहरुलाई सुरक्षित र सहज वातावरणमा नियमित पठनपाठन गराउनु अबको आवश्कता हो । यस विषयमा स्थानीय सरकार, विद्यालय प्रशासन, व्यवस्थापन र आम अभिभावक आजैदेखि सोचौं, विकल्प खोजौं, आफ्नो स्थानबाट पहलकदमी गरौं ।
जीतराम चौधरी
मधुवन न.पा.–९, धर्मबस्ती बर्दिया