विन्दु चौधरी
शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ । बाँसगढी नगरपालिकाको विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका शिक्षकहरुलाई जिम्मेवार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा बाँसगढी नगरपालिकाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यपक र शिक्षकहरु गरि करिव ४० जनाको सहभागिता रहेको थियो । तालिममा विद्यालयमा लैङ्गिकता, विद्यालयमा सुसान, शिक्षा ऐन सरफाई, खानेपानी, प्रविधिमैत्री विद्यालय, शैक्षिक नेतृत्व, बालिकाहरुका समस्या र अपांगतामैत्री विद्यालय लगाएत विषयमा जानकारी गराइएको थियो । विद्यालयमा भौतिक तथा शैक्षिक सुधारका लागि तालिममा सिकेका महत्वपुर्ण ज्ञानले आगामी दिनमा थप काम गर्न सहज हुने तालिममा सहभागीहरुले बताएका थिए । तालिमको समापन कार्यक्रममा बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीको अध्यक्षता तथा संघिय सांसद जाबेदा खातुनको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख रेग्मीले बालबालिकाहरुलाई संस्कारी र ब्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । संघिय सांसद जाबेदा खातुनले अहिले विद्यालयमा आईरहेका विभिन्न समस्या लैङ्गिक मैत्री शिक्षा, सरसफाई, शौचालय, छात्रालाई सेनेटरी प्याडको उपलब्धताको विषयमा ध्यान दिन आग्रह गर्नुभएको थियो । प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको आयोजना बाँसगढी नगर शिक्षा शाखाको समन्वयमा सञ्चालित उक्त तालिममा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा अधिकार र शिक्षा सम्बन्धीका बारेमा स्रोत ब्यक्ति प्ररिक्षक सन्जिव कुमार जोसिले सहजीकरण गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक तथा सस्थापक अध्यक्ष प्रवेश सिद्धिकी, लगाएतको उपस्थिती रहेको थियो । भने कार्यक्रम संचालन कार्यक्रम संयोजक उपनिर्देशक महेश नेपालीले गर्नुभएको थियो ।