विन्दु चौधरी
दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै विरोधसहित ध्यानाकर्षण तथा चक्काजाम गरेका छन् । दुग्ध उत्पादक सहकारी संघ बर्दियाले आज बाँसगढीको किसान चोकमा संयुक्त रूपमा चक्काजाम गर्नुका साथै सडकमै दुध पोखेका थिए ।
उनीहरूले दूधको बाँकी बक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरूमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तर रूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघले चेतावनी दिएको छ ।
बाँसगढीमा भएको विरोध कार्यक्रममा अखिल नेपाल किसान महाँसंघका केन्द्रिय उपाध्यक्ष तथा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष टिकाराम रेग्मीे, कालिराम पोडेल लगाएतले किसाले उत्पादन गरेको दूधको रकम भुक्तानी र बजारिकरण लगाएतका समस्या समाधानका लागि सरकार तथा सम्बन्धीत सरोकारवालाहरुसंग खवरदारी गुर्नभएको थियो । त्यसैगरी विरोध कार्यक्रमको संचालन नगरस्तरिय कृषि संजाल बाँसगढीका अध्यक्ष दिपक अधिकारीले गर्नुभएको थियो ।