काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।
आयोगले यसअघि नै दुई चरणमा स्थानीय तहको निर्वाचन तोक्न सरकारसामू मिति प्रस्ताव गरेको थियो । पहिलो चरणको २०७९ वैशाख १४ र दोस्रो चरणमा वैशाख २२ गतेका लागि मिति प्रस्ताव गरिएको थियो ।
सरकार भने तत्काल स्थानीय तह निर्वाचन नगर्ने पक्षमा लागेको छ । संविधानसँग निर्वाचन ऐन बाँझिएको भन्दै स्थानीय तह निर्वाचन पर धकेल्ने रणनीतिमा सरकार र सत्तारुढ दलहरू रहेका छन् ।