विन्दु चौधरी
जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ककौराले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
संस्थाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी, नेपाल रक्तदाता स्वयंसेवी समाज बाँसगढी नगर समिति, बाँसगढी उद्योग वाणिज्य संघ र युवा सञ्जाल बाँसगढीको सहकार्य र समन्वयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ककौराका प्रमुख नरेश बहादुर भुलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाँसगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले कार्यक्रमको उद्घाटन गर्दै यस्ता सामाजिक कार्यहरुले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढीका उपाध्यक्ष विना पौडेल, नेपाल रक्तदाता स्वयंसेवी समाज बाँसगढी नगर समितिका अध्यक्ष विनोद कुमार परियार, युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारी, युवा अभियान्ता राज थारुले आ–आफ्नो धारणा राख्दै यस्ता कार्यक्रमले युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए । वक्ताहरूले नियमित रक्तदान स्वास्थ्यका लागि फाइदाजनक हुने, अरुको जीवन बचाउन सहयोग पुग्ने र यसले समाजमा सेवा र सहयोगको भावना विकास गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रशंसापत्र सहित धन्यवाद प्रदान गरिएको जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ककौराका प्रमुख नरेश बहादुर भुलले बताउनुभयो । कार्यक्रम समापन गर्दै शाखा प्रवन्धक भुलले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउँदै आर्थिक सशक्तिकरणमा टेवा पु¥याउँदै आएको बताउनुभयो । कार्यक्रम संचालन संस्थाका कर्मचारी किरण पाण्डेले गर्नुभएको थियो ।