साउन २३ गते
ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट यही साउन ९ गते फरार भएका जबरजस्ती करणी मुद्धाका आरोपी बाँके जिल्ला, खजुरा गाउँपालिका घर भएका अब्दुल खाँलाई प्रहरीले फेरी पक्राउ गर्न सफल भएको छ । आज दिउसो १२ः१५ बजेतिर जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले बढैयाताल गाँउपालिका वडा नं २ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो ।
अब्दुल खाँ ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट ९ गते (सोमबार) बिहान १०ः५५ बजेतिर खाना खुवाउने समयमा ड्यूटीमा रहेका प्रहरीलाई झुक्याई फरार भएका थिए । उनलाई यही साउन ११ गते बुधबार जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्नको लागि समय तोकिएको थियो, तर उनी साउन ९ गते नै फरार भएका थिए । खाँलाई थप अनुसन्धानको लागि आजै हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।