रावन विश्वकर्मा,
बर्दियामा खोप लगाउन छुटेका बालबालिकालाई पोलियो बिरुद्धको आई.पि.भि खोप दिईने भएको छ । २०७३ बैशाख देखी २०७५ असोज महिना सम्म जन्मिएका बालबालिकालाई लक्षित गरि आई.पि.भि खोप दिईने भएको हो । आई.पि.भि खोप अभियान २०८१ बर्दियामा यहि जेठ १३ गते देखी १८ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुुभयो । आई.पि.भि खोप अभियान २०८१ सञ्चालनका लागि जिल्ला स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मी सँगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालय बर्दियाले बुुधबार खोप अभियानको बारेमा जानकारी गराएको हो ।
बर्दिया सञ्चारकर्मी, जिल्ला खोप समन्वय समितिका पदाधिकारीहर सहभागित अभिमुखिकरण कार्यक्रममा खोप अभियान र पोलियो खोपको औचित्य लगायतका बारेमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुुभएको थियो । खोप लगाउन छुुटेका बालबालिकामा पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले खोप अभियान अन्तर्गत बर्दियामा जेठ १३ देखी १८ गते सम्म सबै स्थानिय तहका सबै वडाहरुमा आई.पि.भि खोप अभियान सञ्चालन गरिने छ । स्वास्थ्य प्रमुुख गिरीका अनुसार खोप अभियानका लागि बर्दियामा ३ सय ८६ खोप केन्द्रमा ३ सय ८६ स्वास्थ्यकर्मी र ७ सय ७२ स्वयमसेवक खटिने छन ।
अभियान अन्तर्गत बर्दियामा २३ हजार ८ सय ४५ जना बालबालिकालाई आई.पि.भि खोप दिने लक्ष्य राखिएको छ । पोलियो संक्रमणबाट सुुरक्षित गराउन ओपिभि खोप अत्यन्तै प्रभावकारी भएकाले खोप लगाउन छुुटेका सबै बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन समेत स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले अनुरोध गर्नुुभयो । जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुुर्य बहादुुर विष्टको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा गुुलरिया नगरपालिकाका उपप्रमुुख सावित्री गौतम, बर्दियाका प्रमुुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, बर्दिया अस्पतालका डा. विश्वनाथ शाह, नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य लगायतको सहभागिता रहेको थियो ।
पोलियो भाइरसबाट हुने संक्रमक रोग हो । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो भाइरसबाट सङ्क्रमण भएको व्यक्तिलाई पक्षाघात भई मृत्यु समेत हुन सक्छ । यो रोगको मिश्रित औषधी उपचार हुँदैन । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ ।