खोजि गर्नुहोस..

मातृ भाषाको रेडियो कार्यक्रमले ल्याएको सचेतना

अनोज थारु, बाँसगढी बर्दिया ।
बाँसगढी ८ ककौराका ७५ बर्षिया घनश्याम पछलडङ्ग्या बिहान उठ्ने बित्तिकै भित्तामा झुण्डाएको रेडियो खोल्छन् र एफएम सुन्दै चिया नास्ता खाएर बिहानको पैदल यात्रामा निस्किन्छन् । पैदल यात्रा गर्दा पनि रेडियोबाट प्रशारण भएको कार्यक्रम छुट्छ कि भन्ने पिरले सानो बटनवाला मोवाईलमा रेडियो सुन्ने गर्दछन् । बिहानको पौने ६ देखी साढे सात बजे सम्म चार पाँच किलोमिटर पैदल यात्रा गर्दै रेडियो सुन्नु उनको दिनचर्या बनेको छ । पछलडङ्ग्या भन्छन्, रेडियो मेरो सबैभन्दा नजिकको साथि हो । हाम्रो गाँउ ठाँउमा कहाँ के भइरहेको छ म रेडियो मार्फत नै सूचना पाउने गरेको छु, त्यो संगसंगै देशमा भइरहेको गतिबिधि समेत रेडियोबाटै जानकारी लिन पाएको उनको कठन छ । घनश्यामको घर देखि करिव ३ किलोमिटरको दुरीमा रेडियो गुर्वावा एफ.एम रहेको छ । आफ्नै मातृभाषा थारु भाषाको रेडियो भएकोले उनी समय समयमा आफ्नो जिवन भोगाइ र चाडपर्बका बेला रीतिथिति र गीत सुनाउन एफएममा गैरहन्छन् । स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरुले गरेको काममा आफुलाई चित्त नबुझेको कुरा रेडियो मार्फत नै प्रश्न गरेर जवाफ समेत पाउने गरेको घनश्यामको भनाइ छ ।


घनश्याम जस्तै बाँसगढी ६ सतहरीया गाँउका बरघर चुन्नुराम चौधरीले पनि नियमितरुपमा रेडियो गुर्वावा एफ.एम सुन्ने गरेका छन् । समय अनुसार थारु मातृभाषाको गित संगित, कार्यक्रम र समाचार प्रशारण गर्ने भएकोले गुर्वावा एफ.एम आफ्नो रोजाइमा परेको उनको दाबी छ । चौधरीले भने, पहिला यो ठाँउमा रेडियो थिएन, त्यतीखेर नेपालगंन्जको रेडियोहरु सुन्ने गथ्र्यौं । त्यतिबेला रेडियोले कतिबेला हाम्रो थारु भाषाको गितसंगित प्रशारण गर्छ भनेर कुरेर सुन्नु पथ्र्यो । तर अव आफ्नै ठाँउमा मातृभाषाको रेडियो सन्चालन भएपछि आफुसंग भएको गितसंगित रेडियोबाट सुन्न, सुनाउन पाइन्छ । गाँउमा कुनै कार्यक्रम भयो भने आफुले नै गुर्बाबा एफएममा समाचार पठाउने गरेको उनले बताए । रेडियोले पुराना पुर्खाहरुको जिवन भोगाई, अनुभव र सुखदुःखको कुरा रेकर्ड गरेर प्रशारण गरेकोमा थारु संस्कार, संस्कृति र पहिचान संरक्षणमा समेत धेरै ठुलो मद्धत पुगेको बरघर चुन्नुराम चौधरीको दाबी छ ।
एफएमले प्रसारण गर्ने मातृभाषाको कार्यक्रमलाइ पुराना पुस्ताले मात्रै नभएर युवाहरुले पनि रुचाउने गरेका छन् । बाँसगढी २ बेतहनीका युवा राजसिंह थारुले अहिलेका युवाहरु लेखपढ गरेर कम्प्युटरमा, बिज्ञान प्रबिधिमा अगाडी भएपनि बास्ताबिक जिवन जिउनको लागि पुर्खाहरुको ज्ञान, सिप, जिवन भोगाई र अनुभव सुन्न आवश्यक रहेको बताए । उनले भने, हाम्रो पुर्खाहरु बुबा बाजेहरु यही ठाँउमा सयौँ बर्ष देखि बस्दै आएका छन् । उहाँहरुले यो ठाँउको हावा पानी र माटोसंग परिचित छन् । अहिलेका युवाहरु जति नै पढे लेखेर बुद्धिमान भएपनि बास्तबिक जिवन जिउनको लागि त अनुभव चाहिन्छ । पुर्खाहरुको ज्ञानलाइ नयाँ पुस्तामा पुस्तान्तरण गर्न रेडियो गुर्बाबा एफएम ज्ञानको सहज श्रोत बनीरहेको राजसींहको भनाइ छ । कुनै पनि समाजको बिकास गर्नका लागि पुर्खाहरुको इतिहास, ज्ञान, शिप, कला, संस्कृती पनि बुझ्न जरुरी रहेको राजसिंहको कथन छ ।

बर्दिया जिल्लामा ५२ प्रतिशत थारु भाषीहरुको बसोबास छ । पुराना पुस्ताका बहुसंख्यक मानिसहरु निरक्षर छन् । लेखपढ गर्न नसक्नु र अधिकांस समय आफ्नै खेतबारीमै व्यस्त रहने भएकोले थारु बाहेक अन्य भाषा बुझ्दैनन् । भाषा नबुझेकै कारण राज्यबाट पाउनु पर्ने सेवा सुबिधा बाट समेत बन्चित हुन पुगेका छन् । यस्तै खाले समस्यालाई मध्यनजर गरेर २०६५ सालमा बाँसगढीमा रेडियो गुर्वावा एफ.एमको स्थापना भएको रेडियोका स्टेशन म्यानेजर पुष्पा चौधरीको भनाई छ । जुन रेडियोको मुख्य भाषा थारु छ । उनका अनुसार रेडियो स्थापनापछि राज्यको हरेक निकायमा थारु समुदायको पहुँच पु¥याउन रेडियोले भुमिका निभाइ रहेको छ । रेडियोले थारु भाषाका हजार भन्दा बढी लोकगीतहरु अडियो फर्मेटमा संकलन गरेको छ । त्यसैगरी हमार गाउ, आझुक बाट, जनजिवन, हमार अंगना, हमार कृषि, बाल कार्यक्रम फुलरीया, युवा सरोकार र दैनिक ३ वटा थारु भाषामा समाचार प्रसारण गर्दै आएको स्टेशन म्यानेजर चौधरीले जानकारी दिइन । रेडियोले थारु भाषीहरुलाइ बुझन र पढन सजिलो होस भनेर थारु भाषामा नेपालको संबिधान, मुलुकी देवानी संहिता गुर्वावक जलमौटि, भोजाहा रीट लगाएत किताबहरु थारु भाषामा प्रकाशन गरीसकेको चौधरीले बताईन ।

त्यतिमात्रै नभएर स्थानीय लोकतन्त्रको रैथाने अभ्यासलाइ बढावा दिन थारु प्रथाजन्य संस्थालाइ स्थानीय सरकारबाट कानुनी मान्यता दिलाउन सफल भएको पनि स्टेशन म्यानेजर चौधरीले जानकारी दिइन । हालसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी ५ वटा जिल्लाको ४८ नगरपालिका मध्ये १८ स्थानीय पालिकाहरुले थारु प्रथाजन्य संस्थाहरु मटावाँ, बरघर, भलमन्सा प्रथालाई कानूनी मान्यता दिइसकेका छन् । ग्रामिण बस्तीका कुराहरु संचार माध्यम सम्म पुर्याउन गुर्बाबा एफएमले हरेक बर्ष थारु प्रथाजन्य संस्थाका अगुवाहरुलाइ समाचार सम्बन्धि अभिमुखीकरण गर्ने गरेको छ । अहिले ति बरघरहरुले आफनो गाँउमा भएका गतिविधीहरु रेडियोबाट सुन्न पाउदा उत्साहित हुदै समाचार पठाउन थालेका छन् । गाउँका बरघरहरु नै गुवार्वा एफ एमको गाँउ बस्तीका रीर्पोटरहरु रहेको स्टेशन म्यानेजर चौधरीको भनाइ छ । रेडियो मार्फत क्षमता अभिबृद्धि कै कारण अहिले बरघरहरु सरकारी कार्यालयमा गएर आफना कुरा राख्न सक्ने भएका छन । राजनितीमा पनि सहभागिता बढदै गएको छ । उनीहरुले आफनो गाउको निणर्यहरुको लिखित दस्ताबेज राख्न थालेका छन । यसरी थारु समाज रुपान्तरणका लागि प्राचिन सृजनशिल आदिबासी समाज द्धारा संन्चालित रेडियो गुर्वावा एफ.एम ले शुरु गरेको अभियानमा स्थानीयहरुको समर्थन दिनप्रतिदिन बढदै गैरहेको छ । संस्थाको आफ्नै जग्गामा भवन निर्माण भै थारु साँस्कृतिक केन्द्रको स्थापना हुन गैरहेको गुर्वावा एफ.एमका स्टेशन म्यानेजर पुष्पा चौधरीले बताईन ।

बर्दिया जिल्लामा रेडियो गुर्वावा लगाएत बबई एफ.एम गुलरीया, रेडियो रामज्ञानु मधुबन, रेडियो टाईगर ठाकुरबाबा, रेडियो राजापुर एफ.एम राजापुर र रेडियो साथि एफ.एम राजापुर गरी ६ वटा एफ.एम संचालनमा छन् । यी मध्ये बर्दियाको सदरमुकाम गुलरीयामा रहेको बबई एफ.एमबाट थारु भाषाको मैगर अँगना र अवधि मातृभाषाको कमेडी र सन्देशमुलक गुडगुडी कार्यक्रम बिगत ४ बर्ष देखि संन्चालन भइरहेको छ । यस्तो मातृभाषाको कार्यक्रमले निकै प्रभाव पारेको स्टेशन म्यानेजर राज कुमार बिकले बताए । उनी आफैले पनि थारु भाषाको मैगर अँगना कार्यक्रम संन्चालन गर्दै आएका छन् । बिशेगरी गाउँमा गएर थारु समुदायका मानिसहरुसंग उनीहरुको जिवन भोगाई, अनुभव र थारु संस्कार संस्कृतिको बारेमा रमाईलो तरिकाले कुराकानी गर्ने गरेको बताए । यो कार्यक्रमले श्रोताहरुले पुराना संस्कार संस्कृतिको कुराकानी गर्नुका साथै पुराना गितसंगित समेत सुनाउने गरेको जानकारी दिए । यसरी रेडियोबाट उहाँहरुको आवाज प्रशारण हुदा संस्कार, संस्कृति संरक्षण हुनुका साथै नराम्रो बिकृतिहरु पनि हटाउने सुझाव समेत रेडियोमा आउने गरेको स्टेशन म्यानेजर बिकले बताए । थारु संगै अवधि भाषाको कार्यक्रम पनि बबइ एफएम बाट प्रसारण हुने गरेको छ । अहिले रेडियो बबई एफ.एमबाट प्रशारण हुने यि दुई कार्यक्रम श्रोताहरुले निकै मन पराउने गरेका छन् । कहिले कसो प्राबिधिक कारण कार्यक्रम प्रशारण भएन भने श्रोताहरुले फोन गरेर प्रशारण गर्न आग्राह समेत गर्ने गरेको बबई एफ.एमका स्टेशन म्यानेजर राज कुमार बिकले बताए ।

Min paradhad

राज कुमार जस्तै राजापुरको साथि एफ.एमका स्टेशन म्यानेजर मिन प्रसाद अधिकारीले पनि आफ्नो रेडियोबाट सबैभन्दा बढी थारु भाषाको कार्यक्रम प्रशारण हुने गरेको बताए । रेडियो गुर्वावा एफ.एम बाट उत्पादित थारु भाषाको समाचार, हमार गाँउ, आजुक बाट, फुलरीया जस्ता कार्यक्रम प्रशारण गर्दै आएको बताए । उनले भने गुर्वावा एफ.एम र हाम्रो साथि एफ.एम बिचको सहकार्यमा यो कार्यक्रम प्रशारण गर्ने गरेका छौँ । हाम्रो यहाँ थारु समुदायको बहुल्यता भएको ठाँउ भएकोले गुर्वावा एफ.एम सग समन्वय गरेर उहाँको कार्यक्रम हामीले पनि प्रशारण गर्ने गरेका छौँ । यसले गर्दा हाम्रो रेडियो सुन्ने श्रोता बढेका छन् । मातृभाषा सबैले बोली रहदा र बोल्दै गर्दा थारु पहिचान गराउनुका साथै भाषाको संरक्षण समेत हुने गरेको अधिकारीको दाबी छ । पछिल्लो समयमा युवा पुस्ताहरु आफु बोल्ने भाषा, संस्कृति र रितिरिवाजहरु बिर्सिरहेको अवस्थामा यस्ता कार्यक्रमले भाषाको जर्गेना गर्नुका साथै भाषामा सुद्धता हुने र त्यसअनुसार ब्यख्या बिष्लेषण गर्न सकिने स्टेशन म्यानेजर अधिकारीले बताए ।

त्यसैगरी ठाकुरबाबा नगरपालिकामा रहेको टाईगर एफ.एमले पनि थारु भाषाको समाचार र थारु लक्षित कार्यक्रमहरु प्रशारण गर्ने गरेको स्टेशन म्यानेजर भाबुक योगीले बताए । उनले भने प्रत्येक दिन बिहान ८ बजे थारु भाषामा समाचार, थारु भाषाको रामराम टाईगर कार्यक्रम प्रशारण गर्छौँ । यो कार्यक्रम मार्फत थारु समुदायका स्रोताहरु फोनकल गरेर पुराना गित संगितहरु सुनाउने गर्छन् । त्यसैगरी हमार संस्कृति भन्ने थारुभाषाको कार्यक्रम बाट थारु समुदायको संस्कार, इतिहाँस र चाडपर्वको बिषयमा कुराकानी गरेर प्रशारण गर्ने गर्छौँ । यस बाट थारु समुदायमा धेरै अपनत्व बढाएको छ । यस्तो कार्यक्रमले थारुसमुदायको भाषा, संस्कृति, संस्कार र इतिहाँसको समेत संरक्षण हुने गरेको स्टेशन म्यानेजर योगीले बताए । आफ्नो भाषा, संस्कृती प्रति मायाँ हुनु मानबिय स्वभाव हो । त्यसैले एफएम रेडियोहरुले आफ्नो श्रोता बढाउनका लागि स्थानीय मातृ भाषालाइ प्राथमिकतामा राख्नै पर्छ । होइन भने अत्याधुनिक संचार प्रबिधिले साँघुरीदैगैरहेका नेपाली एफएम रेडियोहरुको अवस्था बल्दैगरेको मैनबत्तिको जस्तो हुन के बेर ?

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *