खोजि गर्नुहोस..

बाँसगढीमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमण फैलिन नदिनका लागि बाँसगढी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ । बाँसगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा डेंगु रोग सार्ने लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरिएको हो । नगरपालिकाले बाँसगढी बजारमा लामखुट्टेको बासस्थान रहन सक्ने गाडीको पुरानो टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीको समेत सरसफाइ गरिएको बाँसगढी नगरपालिका स्वास्थ्य शाखा संयोजक महेश थारुले बताउनुभयो ।

लार्भा नष्ट गर्ने अभियानमा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वंयसेविका, पत्रकार लगायतको टोलीले लामखुट्टेको लार्भा नष्ट गर्न सचेतनामुलक अभियान संचालन गरिएको स्वास्थ्य संयोजक थारुले जानकारी दिनुभयो । त्यस्तैगरि बर्दिया जिल्लामा २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार जिल्लामा २३ जनामा डेंगी पुष्टि भैसहेको डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा सरोकारवालाहरुसंगको अभिमुखिकरण कार्यक्रम सार्वजनिक गर्नुभयो । उहाँका अनुसार रिसेट केश अहिले १३ जनामा देखिएको छ । जुनमध्ये गुलरिया नगरपालिकामा ५ जना, राजापुर नगरपालिकामा ५ जना, बारबर्दियामा १, मधुवनमा १ र बढै्याताल गाउँपालिकामा १ जनामा देखिएको गिरीले बताउनुभयो ।

डेंगुबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्ने, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले आग्रह गर्नुभयो । यसका साथै घर वरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन चिकित्सकको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *