खोजि गर्नुहोस..

विद्यालय सुरक्षा, शौचालय र बालबालिकाको सवाल

जीतराम चौधरी
मधुवन–९, धर्मबस्ती बर्दिया

बर्दियाको एउटा विद्यालयको शौचालयको पर्खाल भत्किँदा नौ वर्षीय बालिकाले मृत्युवरण गर्नुप–यो । शौचालय भत्केर बालबालिकाले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । यस अघि पनि यस्तै घटनाले विद्यार्थीको ज्यान गएको घटना हामी सबै माझ सर्वविदितै छ तर यो विषयमा जो माथि आइपर्छ त्यो व्यक्ति परिवार बाहेक सोसँग सारोकारवाला कसैको चेत खुलेन । कमजोर पर्खाल वा अन्य संरचना भत्किनु सामान्य कुरा होला तर समाजमा आशलाग्दो र उदाउँदो भविष्यको एक कर्णधारको इहलिला समाप्त हुनुलाई अवश्य पनि सामान्य रुपमा लिइनु हुँदैन ।
हरेक अभिभावकले आफ्नो कलिला बालबालिकाको उज्जवल भविष्य निर्माण गर्दै समग्र समाज, राष्ट्र अनि जीवन र जगतका महत्वपूर्ण योगदान गर्ने खम्बाका रुपमा उभ्याउने अपेक्षा राखेर शिक्षा आर्जन गर्न विद्यालय पठाइरहेका हुन्छ तर ती विद्यालयको वातावरण, भौतिक संरचनाहरु कति सुरक्षित छन् त्यसमा खासै चासो राख्ने समय सायद कसैलाई छैन जस्तो लाग्छ । यो जिम्मेवारी विद्यालय प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण अभिभावकको पनि हो । ‘जाबो केटाकेटीका लागि त हो जस्तो भए पनि भईहाल्छ नि, काम चलिहाल्छ नि’ भन्ने सोच सायद मनमस्तिष्कबाट हट्न सकेको छैन । त्यसमा पनि अझ शौचालय जस्तो क्षेत्र, दिसापिसाब गर्ने स्थानमा कसले हेर्ने?? कतिपय विद्यालयमा स्टाफ शौचालय लेखेर राखेको हुन्छ जसमा बालबालिकाहरु प्रयोगको लागि निषेध गरिएको हुन्छ । शिक्षक कर्मचारीका लागि अलग शौचालय भएपछि बालबालिकाले प्रयोग गर्ने शौचालयको अवस्थाको बारेमा कसले के का लागि चासो दिने?? परिणाम स्वरुप त्यहाँको संरचना भत्किने अवस्थामा पुग्दा समेत कसैको ख्याल हुँदैन फलस्वरुप हाम्रा अबोध निर्दोष बालबालिकाहरुले घाइते मात्र होइन ज्यानै गुमाउनु पर्छ । के शौचालयको पर्खाल भत्कनुमा बालिकाकै दोष हो त? अवश्य पनि होइन ।

नियमानुसार हरेक विद्यालयले प्रत्येक वर्ष विद्यालय सुधार योजना अद्यावधिक गर्नुपर्ने प्रावधान छ तर विद्यालय सुधार योजना देखाउनका लागि तयार गरिन्छ जसमा यी बालबालिकाहरुको सुरक्षा, बालमैत्री वातावरण निर्माणका योजना ओझेलमा प्राय पर्छन् किनभने यी भनेका झिनामसिना कुराभित्र पर्छन । ती झिनामसिना कुराहरु तबसम्म साना देखिन्छन् जसरी जबसम्म आँखामा कसिंगर पर्दैन तबसम्म सानै हुन्छ । विद्यालयको अनुगमन गर्ने निकाय समेतको दृष्टिकोणमा पनि विद्यालयको शौचालयलाई गौण नै हुन्छ । ठुल्ठुला भौतिक संरचना भएका विद्यालयहरुमा समेत शौचालयको अवस्था प्रयोग गर्न त कुरै नगरौं हेर्न नसकिने हुन्छ । बालबालिकाहरुले कसरी प्रयोग गरुन् ।
एउटा बालमैत्री नमूना विद्यालय भ्रमणको क्रममा त्यहाँको शौचालय व्यवस्थापनको याद आयो । विद्यालयको भवन सामान्य टिनले छाएको र प्रत्येक कक्षाकोठामा अटेच शौचालय, शौचालय कक्षाकोठा भित्रै भएपछि सफा नराख्नैपर्छ । सरसफाइको लागि जसले प्रयोग गर्छ उसले अनिवार्य सफा गर्ने परिपाटी रहेछ अर्थात बालबालिकाले आफै सफा गर्छन् मात्रै विद्यालय व्यवस्थापकले प्रयाप्त पानीको व्यवस्था गरिदिएपुग्छ । साना बालिबालिकाहरुको शौचालयको ढोकाको माथिल्लो भागमा जालीको प्रयोग गरेको थियो । कहिलेकाहीं साना बालबालिकाहरु अप्ठारो पर्दा वा चुकुल खोल्न नसक्दा तत्काल उद्धारका लागि त्यसो गरिएको रहेछ ।
यति गर्नका लागि ठुलो बजेट विनियोजन गरिरहनु सायद पर्दैन । त्यसैले बालबालिकाहरुलाई साँच्चै नै सुरक्षित बनाउनुछ भने यस्ता सा–साना कुराको व्यवस्थापनका लागि स्थानीय सरकार, विद्यालय प्रशासन, व्यवस्थापन र आम अभिभावक आजैदेखि एकपटक सोच्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *