खोजि गर्नुहोस..

अवैध आयात व्यापार नियन्त्रणमा कडाई गर्न उद्योगी व्यवसायी सक्रिय

सीमा क्षेत्रबाट हुने अवैध आयात व्यापार नियन्त्रणमा कडाई गर्न उद्योगी व्यवसायी आफै सक्रिय भएका छन् । सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर साइकल तथा मोटरसाइकलमा घरयासी सामान तथा लत्ताकपडा ल्याई घरघरमा पुगेर व्यापार गर्ने क्रम बढेपछि व्यवसायीहरु सक्रिय भएका हुन् ।केही दिन यतादेखी भारतीय नागरिकहरुले चिट्ठाका नाममा बर्दियाको बाँसगढी क्षेत्रका विभिन्न ठाउँहरुमा घरघर पुगेर घरयासी सामान तथा लत्ताकपडा बेच्ने गरेको पाइएपछि बाँसगढी उद्योग वाणिज्य संघले कडाई गर्दै आएको छ ।बाँसगढी उद्योग वाणिज्य संघका महासचिव विकास गौतमले बाँसगढी नगरपालिकाभित्र अवैध रुपमा साइकल तथा मोटरसाइकलमा सामान बोकेर व्यापार गर्नेलाई कडाई गरिएको बताउनु भयो ।

उहाँले स्थानीय उत्पादन र व्यापार व्यवसाय धरापमा परेका बेलामा बाहिरबाट अबैध रुपमा कारोवार हुदाँ राजश्व चुहाउट हुने र कारोबारमा असर पर्ने गरेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘खुला सीमा भएकाले भारतीय नम्वर प्लेट गाडी तथा मोटरसाइकलहरु एउटा उदेश्यका लागि आएर अर्को काम गर्ने गर्दछन् । अवैध सामान भित्रिदाँ एकातिर स्थानीय व्यापार व्यवसाय शुन्य भएको छ भने अर्कोतिर राजश्व गुमिरहेको छ ।’पछिल्ला दिनहरुमा साइकल र मोटरसाइकलमा घरायसी सामान, लत्ताकपडा घरघरमा पुगेर व्यापार गर्नेको संख्या बढेकोे छ । यसरी व्यापार गर्न आउनेहरुले ल्याउने साम्रागीको गुणस्तर के कति र मूल्य भन्नेमा कुनै निकायले अनुगमन गरेको पाइदैन भने सरोकारवाला निकायले यस तर्फ ध्यान गएको छैन । सामान खरीद गर्ने उपभोक्ताले घरमै सजिलै र सस्तोमा पाइएको भन्दै सामान खरीद गरेपनि ठगिदै आएका छन् ।

जिल्लाका आठवटा पालिका मध्ये चारवटा पालिका भारतीय सीमा क्षेत्रसंग जोडिएका छन् ।प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले सीमा नाकाबाट हुने अवैध काम रोक्न सुरक्षा निकायलाई निर्देशन दिएर मान्छेको आवतजावत बढी हुने ठाँउमा सुरक्षा निकाय परिचालन गरेर कडाई गरिएको बताउनु भयो । अवैध रुपमा साम्रागी ल्याएको पाइएमा पक्राउ गरेर कानुनी दायरामा ल्याउने र पक्राउ परेका अवैध साम्रागी राजश्व अनुसन्धान कार्यालय र भन्सार कार्यालयमा पठाउने गरिएको बताउनु भयो ।राजापुर भन्सार कार्यालयका प्रमुख मनोज बस्नेतले भारतीय सवारी साधनले मालवस्तु ल्याउदा अस्थाई पैठारी गरेको हुनु पर्ने, भन्सार कार्यालयको प्रज्ञापन पत्र, नगदी रसिद भएका मालबस्तुको ढुवानी गर्न पाइने बताउनु भयो ।

ढुवानी गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको संख्या हुनुपर्ने र मालबस्तु लाने भनेर तोकिएको स्थानसम्म मात्र लैजान पाइने बताउनु भयो । अन्यथा कानुन विपरित काम गरेको हुने बताउनु भयो ।साथै कसैले चोरीपैठारी भएको मालबस्तुको जानकारी सम्बन्धीत निकायलाई गराएमा लिलाम भएको राजश्वको २० प्रतिशत पुरस्कार दिने व्यवस्था भन्सार नियमावली २०६४को नियम ४७ मा उल्लेख भएको बताउनु भयो । अबैध रुपमा व्यापार गर्न प्रयोग भएका सात वटा मोटरसाइकल र मोटरसाइकलमा ल्याएको ३० वटा एलईडी टि.भी, १० पिस कुर्तासुरुवाल, एक सय वटा हटकेश र लाइट साथै चिट्ठा सहित एकजनालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको महासचिव गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *